
पुरुष सधैँ आफूलाई यो समाजको हर्ताकर्ता सम्झन्छ। यो समाज आफैँले मात्र निर्माण गरेको हु भन्ने भ्रममा बाँचिरहन्छ ऊ । अपवादलाई छाडेर यसो भनौँ, समाज निर्माणमा महिलाको केही पनि भूमिका देख्दैन, उसले । उनीहरूको बौद्धिकता र आदर्श पनि आफ्ना इच्छाका नांगोपनलाई ढाक्ने आवरण हुन् भन्ने बोध मलाई निकै पहिले भएको हो । मैले संगत गरेका कोही पनि पुरुषलाई साँच्चै 'बौद्धिक' ठान्दिनँ, म ।
खासमा 'पुरुष' शब्दको उच्चारणले मात्रै पनि म धेरैखाले स्मृतिमा हराउँछु । पुरुष र महिलाको संरचना बुझ्न खोज्छु, बुझ्न सक्दिनँ । यो संरचना नै नौलो लाग्छ, रमाइलो लाग्छ । पुरुषका केही विम्बले मलाई सधैँ पछ्याइरहन्छन् । म सानै छँदा वा भनौँ बुझ्दै जाँदा मेरो साथी भएको थियो, रमेश । मेरो जीवनको पहिलो केटासाथी उही हो जोसँग सानो छँदा म धेरै कुरा 'सेयर' गर्थें । हुन त हामी दिदीभाइ पथ्र्यौं । तर, ऊ मेरो भाइभन्दा बढी साथी थियो ।
त्यसवेला म नौ कक्षामा पढ्थेँ । हाम्रो घरको आडैमा अर्को घर थियो । त्यस घरमा एकजना चिटिक्क परेको, राम्रो केटा बस्थ्यो । सधैँ-सधैँ झ्यालमा बसेर ऊ घरबाट बाहिर गएको अनि घर आइपुगेको गौढ गरेर हेरिबस्थेँ । विस्तारै मलाई त्यो केटा मन पर्न थालिसकेको थियो । मेरो धेरै समय उसको बाटो हेरेर बित्थ्यो । ऊ कहिले आउला भन्ने मनमा लागिरहन्थ्यो । तर, मैले ऊसँग कहिल्यै गफ गरिनँ, उसको अघि परिनँ । माया भने असाध्यै लाग्थ्यो । निकै पछि थाहा पाएँ, उसको नाम सुमन रहेछ । मैले उसलाई नभेट्दै मेरो आँखाबाट ऊ हरायो । खै कता गयो थाहा पाइनँ । तर, मेरो आँखाले अहिले पनि उसलाई खोजिरहेका छन् । मेरो पहिलो माया अव्यक्त भएर रह्यो ।
०००
अहिले त मलाई लाग्छ, मान्छेहरू निस्सार प्रेमसँग हातेमालो गर्दै हिँडेका छन् । प्रेमको अस्तित्व निस्सारतामा मात्रै छ । जीवनलाई बोकेर दुःखको लामो गोरेटोमा हिँडिरहेँ, म । कति कठिन छ, यो जीवनसँग पार पाउनु । मान्छे सबै रित्याएर, हराएर पनि बाँच्दोरहेछ । मैले आफूलाई सबैभन्दा बढी प्रेम गर्ने आमा र बुबा गुमाएँ । यस अर्थमा म आफूलाई 'अभागी' ठान्छु । मेरो मामलामा प्रेम गतिलो खाडल बनेर बाँचेको छ, जीवनमा ।
स्कुल पढ्दाका मेरा सुरुका दिन सम्झँदा लाग्छ, त्यसवेला बहार थियो जीवनमा, जवानीले चियाउँदै थियो । एकजना साथीले मलाई प्रत्येक वर्ष 'प्रेम-प्रस्ताव' राख्थ्यो । प्रत्येक वर्षको स्कुल सकिने अन्तिम दिन उसले मलाई हेर्दै 'आई लभ यू' भन्थ्यो । सायद केटाहरूमाझ त्यसवेला 'आई लभ यू' भन्ने फेसनजस्तै भएको थियो । मैले उसको बालसुलभ 'प्रेम-प्रस्ताव' स्विकार्नु जरुरी ठानिनँ ।
म १४/१५ वर्षकी थिएँ । सुनसान रातमा कतै कसैले बाँसुरी बजाइरहेको हुन्थ्यो । म झ्यालमा बसेर सुनिरहन्थेँ । मेरो मनले सोच्थ्यो- त्यो पक्कै सुन्दर केटा हुनुपर्छ । त्यो लामो बाँसुरीको धुन मेरै निम्ति होजस्तो लाग्थ्यो । त्यसले मेरो मन एकोहोरिन्थ्यो । रातको अन्धकारमा टाढा कतै बाँसुरी बजाउने त्यस केटालाई आँखैमा राखुँजस्तो लाग्थ्यो । तर, त्यो बाँसुरीप्रतिको आकर्षण थियो, सायद ।
जीवनमा विस्तारै बहार हराउँदै गयो । सात कक्षा पढ्दै गर्दा मेरो ममी बित्नुभयो । त्यो हिउँदको वेला थियो । त्यसपछि म निकै दिनसम्म टोलाइरहेँ । तुषारोले खाइदिएर उजाड बनेको घरअगाडिका फूलबारी, कागतीका रूख र दुबोको चउर । यी सबै नियाल्दै र ममी सम्झँदै बस्नु मात्र थियो । पछि-पछि म परिवारलाई सम्हाल्नपट्टि ध्यान दिन थालेँ । यत्तिकैमा मेरो 'टिनएज' सकियो । प्रेम गर्नतिर ध्यान गएन । तैपनि, पुरुष धेरै रूप र भूमिकामा मेरो जिन्दगीसँग जोडिन आए ।

०००
मैले संगत गरेका पुरुषले मबाट माया, स्नेह र यौन चाहे । उनीहरूको इच्छा सामान्यतः यौन समागममै केन्दि्रत हुँदोरहेछ । तर, यौनेच्छाको क्षणिक प्रस्तुतिपछि बोध हुने निस्सारता र रित्तोपनको उसलाई ख्यालै हुँदैन । उमेर बढ्दै गएपछि पुरुषप्रतिको मेरो धारणामा विस्तारै परिवर्तन आयो । केही घटनापछि मैले पुरुषलाई राम्रोभन्दा पनि 'खराब' चरित्रको जीवका रूपमा बुझ्न थालेँ । यसो भन्दैमा पुरुषका नराम्रा पक्ष मात्रै छन् भन्न खोजेको होइन । उनीहरूका केही राम्रा पक्ष पनि छन् । उनीहरू मिहिनेती हुन्छन्, धेरै पुरुषले अरूलाई सम्मान गर्छन्, कतिपय पुरुष संवेदनशील हुन्छन्, जो नारीसँग खेल्दैनन् अनि सहयोगी हुन्छन् । पुरुषका यी पक्ष मलाई मन पर्छन् ।
पुरुषको सबैभन्दा नराम्रो पक्ष के भने, उनीहरू इगो राख्नेखाले हुन्छन् । महिलालाई जताबाट पनि डोमिनेट गर्छन् । पुरुषमा माफी माग्ने क्ष्ामता कम हुन्छ । घरमा श्रीमती भए पनि बाहिरतिर केटी घुमाउँछन् । यति हुँदाहुँदै पनि पुरुषविनाको संसार कल्पनासम्म गर्न सकिँदैन । त्यसैले लाग्छ, पुरुष आकाश हो, नारी धर्ती । पुरुष नारीको जीवनलाई जीवन्त बनाउन सक्ने शक्ति पनि हो र उसको जिन्दगी बिगारिदिने प्रमुख पक्ष पनि । महिलाको कुमारित्व छोयो कि टुट्छ । त्यो नाजुक ज्योति हो, छोयो कि निभ्छ । तर, पुरुष सधैँ महिलाको कुमारित्व र ज्योतिमाथि हमला गर्न उद्यत् हुन्छ किन ? मलाई लाग्छ, महिला सृष्टिको अर्कै महान् कुरा हो । मेरा पुरुषसाथीहरूमध्ये धेरैले प्रेम-प्रस्ताव राखे । तर, त्योभन्दा बेसीले त यौनकै प्रस्ताव राखे । मलाई लाग्थ्यो, यौन भनेको मायासँगै हुने कुरा हो । कसैको प्रस्तावमा यौन हुँदैन । मैले उनीहरूको प्रस्ताव कहिल्यै स्विकारिनँ । र, त्यही कारण मेरा धेरै पुरुषसाथी मबाट टाढा भए ।
०००
पुरुषसँगका मेरा केही घटना छन्, जसको सम्झनाले मात्रै पनि म तरंगित हुन पुग्छु । मेरो सानैदेखि माया गर्ने एकजना साथीले एकदिन भनेको थियो, 'हेर निरु, तिमीलाई म बिहे गरेरै छाड्नेछु ।' त्यसपछि धेरै वर्षसम्म ऊसँग मेरो भेट भएन । एकदिन मैले मेलबक्समा उसको पनि मेल भेट्टाएँ । मेलमा लेखिएको रहेछ, 'आई लभ यू निरु ।' अनि सँगै एटेच्ड गरिएको मेरो फोटोलाई एडिट गरेर टाउकोमा सिन्दुर हालिएको थियो । त्यो फोटो हेरेर मलाई बोर लागेको थियो । सोचेँ, सायद यत्तिले उसको मसँग बिहे गर्ने चाह पूरा भयो ।
दस जोड दुई पढ्दाको कुरा हो । प्रभात भन्ने एकजना साथीले मलाई खुबै पछ्यायो । तीन महिनासम्म 'म तिमीविना बाँच्नै सक्दिनँ, निरु' भनेरै हैरान गर्यो । ऊ विदेश उड्ने अघिल्लो दिनसम्म पनि ऊ मेरो मुखबाट उसको 'आई लभ यू'को सकारात्मक जवाफ सुन्न चाहन्थ्यो । भोलिपल्ट उड्नु छ । तर, ऊ मसँगै 'तिमीले आज आई लभ यू नभने म विदेश जान्नँ' भनेर अड्डी कसेर बसेको छ । पछि उसको ममीले फोन गरेर 'नानी त्यति भनिदेऊ न जे होला' भन्दै फोन गरिन् र अन्त्यमा माया नलाग्दा पनि बाध्य भएर उसलाई 'आई लभ यू' भनँे । अन्ततः ऊ विदेश उड्यो । केही समय हामीले च्याटरुम र मेलमा पनि गफ गर्यौँ । पछि उसले पनि मलाई बिर्सियो र मैले पनि बिर्सिएँ । तर, उसलाई मैले कहिल्यै सम्झेकै थिइनँ ।
०००
चलचित्र क्षेत्रमा काम गर्नेहरू धेरैले बिहेको प्रस्ताव राख्थे । म 'केही समय सोच्नुपर्छ' भन्दै टार्थें । त्यसको केही दिनमै उनीहरू देह-सम्बन्ध बनाउने प्रस्ताव गर्थे जसले ममा चिड्चिडाहट उत्पन्न हुन्थ्यो र पुरुष विम्ब मेराअघि खराब भएर उभिन पुग्थ्यो । मैले पनि एकजनालाई मनैदेखि 'प्रेम' गरेँ । तर, उसैले प्रेम-प्रस्ताव गरेको हो । ०६१ सालमा हाम्रो प्रेम सुरु भयो । उसले खुब माया गथ्र्यो । मायामा परेको केही समय मेरो जिन्दगीका सबैभन्दा खुसीका दिन थिए । सँगै घुम्यो, एक-अर्कामा माया साट्यो । कस्तो रमाइलो ! हामी डेटिङ जान्थ्यौँ, ऊ घन्टौँ मेरो काखमा पल्टिन्थ्यो र हामी सपना देख्थ्यौँ, सुखी संसारको । त्यसवेला हामी एक-अर्कालाई 'किस' पनि गर्थ्यौं । उसले पनि मबाट सेक्स चाह्यो । मैले सधैँ इन्कार गरेँ । 'योचाहिँ बिहे पछि है !' यसै भन्थेँ । हामी बिहेको निष्कर्षमा पुगेका थियौँ ।
पछि उसको दिमागमा म मात्रै आउन थालेँछु । मैले अरू केटालाई फोन गर्छु कि ? वा अरूसँगै पो डेटिङ जान्छु कि ? भन्दै पीर गथ्र्यो । कुनै वेला त्यो स्वाभाविक हुन्थ्यो । तर, उसको त्यही शंकाले हामीबीच चिसोपना आउन थाल्यो । एक मिनेट फोन बिजी भयो भने 'कोसँग फोन गर्दै थिइस्' भन्दै गाली गथ्र्यो । पछि-पछि उसले मायाभन्दा पनि बढी पीडा दियो । मलाई 'यो फिल्मलाइन छाडिदे' भन्दै दबाब दिन्थ्यो । मेरो बुबाको अन्तिम अवस्थामा पनि उसले आफूलाई मात्र समय देओस् भन्ने चाहन्थ्यो । मलाई ऊ 'इरिटेटिङ' र तनाबको विषय हुन थाल्यो ।
एकदिन मैले नै उसलाई 'हामी अब लभ ब्रेक गरौँ' भनेँ । त्यसदिन मलाई धेरै विरक्त लागेको थियो । रोएको पनि थिएँ । म त्यसवेला प्रेम टुटेरभन्दा पनि मेरो जिन्दगीमा दाग लाग्यो भनेर रोएकी थिएँ । त्यो समय मेरो जिन्दगीको ठूलो 'लस पिरियड' हो । त्यसवेला पाउनुभन्दा पनि धेरै गुमाएँ, मैले । अहिले पनि उसले कहिलेकाहीँ मेल गरिरहेको हुन्छ, उसले 'आई एम मिसिङ यू लट' भनेर लेखेको हुन्छ । म कहिल्यै रिप्लाई गर्दिनँ । यही चोट र विरक्तिले मलाई पुरुषबाट टाढा बनायो । मैले पुरुषलाई खलपात्रका रूपमा हेर्न थालेँ । उसो त सबै खराब नहुन सक्छन्, तर मान्छेले जे भोग्यो त्यहीअनुसार कसैप्रति धारणा बनाउने हो ।
०००
प्रेममा पर्नु पनि फस्नु रहेछ । पुरुषहरू मनभित्र पस्नु कता हो कता शरीरलाई नै छामछुम गर्न किन तम्सिन्छन् ? कति रहरले, गौरव गरेर सजाइएको नारी शरीरमा खस्रा हात किन सलबलाउन खोज्छन् सधैँ ?
०००
मलाई सबैभन्दा मन पर्ने पुरुष कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नै हुन् । मन पर्ने विदेशी कलाकार अमिताभ बच्चन र आमिर खान हुन् । पुरुषभन्दा महिला धेरै कुरा सहन्छन् । मलाई लाग्छ, पुरुषजस्ता कठोर मनका हुँदैनन्, नारी । कोमल हुन्छन्, उनीहरू । उनीहरू संवेदनशील हुन्छन्, त्यो देखाउँदैनन् । मैले अहिलेसम्म देखेको सबैभन्दा रमाइलो लागेको पुरुष कलाकार सुरवीर पण्डित हो र सबैभन्दा लोभी पुरुष फिल्मनिर्देशक सुरेन्द्र शाह हो ।
समाजका हरेक क्षेत्रमा पुरुष नै अगाडि छन् । महिलालाई पुरुषले भन्दा पनि परम्परा, संस्कृति र रीति-रिवाजले पछाडि धकेल्यो । केटाहरू बाइकपछाडि 'गर्लफ्रेन्ड' राखेका छन् भने अरूलाई देखाउन स्पिडमा कुदाउँछन् । कोही केटीसँग हल्का चिनजान मात्रै हुँदै छ भने पनि सँगैको साथीलाई 'ऊसँग त मेरो शारीरिक सम्बन्ध बनिसक्यो नि !' भन्न चुक्दैनन् । फेरि पुरुषले गर्ने मायामा पनि शंका उत्पन्न हुन्छ, मलाई । मनैदेखि माया गरेर गर्लफ्रेन्डकै मात्र हुन सक्दैन ऊ । साँच्चै माया गर्ने एकदम कम हुन्छन् । फेरि गर्लफ्रेन्ड हुँदाहुँदै पनि फोनमा अर्की केटीसँग रोमान्स गर्न पछि पर्दैनन्, पुरुष ।
स्वास्नीमान्छेको शरीरसँग मन लाग्दो गरी खेल्न चाहन्छ, पुरुष । कोही पुरुष साँझ परेपछि नगरवधू खोज्दै हिँड्छन् । उनीहरू तरुनी र अधवैंशेको वास्ता गर्दैनन् । समागमपछि त्यो स्वास्नीमान्छेको अनुहार पनि बिर्सन्छन् । पुरुष आफू भने पतिनिष्ठा श्रीमतीको आशा गर्छ । आफ्नी श्रीमतीलाई कोठामा निर्जीव तस्बिरजस्तो सजाएर अर्काकी श्रीमती भोग्न लालायित हुन्छ । हुन त केही यस्ता श्रीमती पनि हुन्छन्, जो अरूको श्रीमान्बाटै भोगिन चाहन्छन् ।
०००
अहिले विवाहपूर्वको यौनसम्बन्धको चर्चा खुब सुनिन्छ । प्रेममा यौन हुनै हुँदैन भन्ने म मान्दिनँ । तर, अनुभूतिविना यौन हुनु भनेको त्यो शारीरिक आवश्यकता मात्र हो, प्रेम होइन । धेरै पुरुषले महिलालाई 'युज एन्ड थ्रो' सोच्छन् । महिलाले पनि आफ्नो यौनेच्छा पूरा गर्न पुरुष फेरी-फेरी प्रयोग गर्न थालेका छन् । तर, विश्वासमा यौनसम्बन्ध हुनु राम्रै कुरा हो । म केटाहरूसँग संगत त गर्न चाहन्छु, तर संगतमा यौनको गन्ध नआओस् । अहिले लाग्न थालेको छ, अधिकांश पुरुष स्वार्थका लागि मात्रै महिलासँग संगत गर्न थालेका छन् । महिला जत्तिनै सक्षम भए पनि पुरुषको छहारी खोज्छन् । म पनि खोज्छु, तर सही पुरुष जसले मलाई साँच्चै माया गरोस् । खासमा म पुरुषसँगभन्दा पनि उसको प्रतिभासँग मित्रता गाँस्न चाहन्छु । उसको शरीरभन्दा दिमाग र हृदय मेरो सरोकारका विषय हुन् ।
Friday, June 11, 2010
Browse » Home » » पुरुषले महिलाको कुमारित्व छोयो कि टुट्छ - कलाकार निरू खड्का
पुरुषले महिलाको कुमारित्व छोयो कि टुट्छ - कलाकार निरू खड्का
Subscribe to:
Post Comments (Atom)






Comments :
0 comments to “पुरुषले महिलाको कुमारित्व छोयो कि टुट्छ - कलाकार निरू खड्का”
Post a Comment